

बर्लिन । दोस्रो विश्वयुद्धमा पराजयपछि कहिल्यै पनि विदेशमा स्थायी रूपमा सेना नपठाएको जर्मनीले पहिलोपटक लिथुआनियामा आफ्नो सैनिक ब्रिगेड तैनाथ गरेको छ। उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो) को पूर्वी भागको रक्षा गर्न जर्मन चान्सलर फ्रेडरिक मर्जले बर्लिन ब्रिगेड पठाएका हुन्।
चान्सलर मर्जले गत बिहीबार (मे २२) लिथुआनियाको भ्रमण गर्दै त्यहाँ आयोजित समारोहमा रक्षामन्त्री बोरिस पिस्टोरियससँगै सहभागी हुँदै औपचारिक रूपमा नयाँ ब्रिगेडको घोषणा गरेका थिए। यससँगै जर्मन सेना १९४० यताकै पहिलोपटक दीर्घकालीन रूपमा विदेशमा तैनाथ गरिएको हो।
यूक्रेन युद्धको सन्दर्भमा बोल्दै मर्जले भने, “हाम्रा बाल्टिक सहयोगीहरूको सुरक्षा नै हाम्रो सुरक्षा हो।” उनले नाटोका सदस्य देशहरूलाई मस्कोको सम्भावित खतरा विरुद्ध सुरक्षा संयन्त्र बलियो बनाउन आह्वानसमेत गरेका छन्।
जर्मन सेनाको उपस्थितिलाई ऐतिहासिक कदम भन्दै लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले स्वागत गरेका छन्। लिथुआनिया रुसको कालिनिनग्राद र बेलारुससँग सीमा जोडिएको देश हो, जसले गर्दा सम्भावित जोखिम बढ्दो छ।
नयाँ ४५ नम्बरको बख्तरबंद ब्रिगेड अन्तर्गत करिब ५ हजार जनाको क्षमता हुने जनाइएको छ, जसमा ४८०० जर्मन सैनिक र २०० जना नागरिक कर्मचारी हुनेछन्। सन् २०२७ भित्रै ब्रिगेड पूर्ण क्षमतामा पुग्ने अपेक्षा गरिएको छ। सैनिक उपस्थिति विस्तारको संकेतस्वरूप भिल्नियसको क्याथेड्रल स्क्वेयरमाथि दर्जनौं जर्मन सैन्य हेलिकप्टर उडाइएको थियो।
यस कदमसँगै जर्मनीले युरोपको सुरक्षा सन्तुलनमा आफ्नो भूमिका अझ बलियो रूपमा अघि सारेको छ।