‘मिस वर्ल्डले वेश्याजस्तो बनायो’ : मिस इङ्ल्यान्ड मिल्ला म्यागीको आरोप 

‘मिस वर्ल्डले वेश्याजस्तो बनायो’ : मिस इङ्ल्यान्ड मिल्ला म्यागीको आरोप 

काठमाडौं । मिस इङ्ल्यान्डको उपाधि विजेता मिल्ला म्यागीले भारतमा हुन लागेको ‘मिस वर्ल्ड’ सौन्दर्य प्रतियोगितामा भाग नलिने घोषणा गरेकी छिन्। उनले प्रतियोगिता आयोजकमाथि अपमानजनक व्यवहार र शोषण गरेको गम्भीर आरोप लगाएकी छिन्।

ब्रिटिश ट्याब्लोइड ‘द सन’सँगको कुराकानीमा म्यागीले आफूले परिवर्तन ल्याउने उद्देश्यका साथ प्रतियोगितामा भाग लिएको तर आयोजकहरूको व्यवहारले आफूलाई ‘वेश्याजस्तै’ महसुस गराएको बताइन्। उनका अनुसार कार्यक्रम अवधिभर भारी मेकअप, ग्ल्यामरस गाउन र धनी प्रायोजकहरूका अगाडि ‘मनोरञ्जन दिनुपर्ने’ दबाब थियो।

म्यागीले भनिन्, “हामीलाई हरेक टेबलमा बसेर पाहुनालाई धन्यबाद दिन, हास्न र बसिरहन निर्देशन दिइन्थ्यो। म यहाँ कसैलाई मनोरञ्जन दिन होइन, आफ्नो क्षमता देखाउन आएकी हुँ।”

उनले प्रतियोगिताको प्रणालीप्रति आक्रोश व्यक्त गर्दै भनिन्, “मिस वर्ल्डको एउटै मान्यता हुनुपर्छ, तर यो प्रतियोगिता पुरानो सोचमा अल्झिएको छ।”

हैदराबादमा भएको प्रमोशनल कार्यक्रममा सहभागी भएपछि उनी मे १८ मा प्रतियोगिताबाट बाहिरिने घोषणा गरेकी थिइन्। प्रारम्भमा व्यक्तिगत कारण उल्लेख गरे पनि पछिल्लो प्रतिक्रिया सार्वजनिक गर्दै उनले प्रतियोगिता छोड्नुको वास्तविक कारण खुलाएकी हुन्।

उनको यो बहिर्गमनसँगै मिस वर्ल्ड प्रतियोगिता आयोजनामा पारदर्शिता र महिला प्रतिस्पर्धीप्रतिको व्यवहारको विषय फेरि एकपटक विवादको घेरामा आएको छ।