डा. सन्दुक रुइतलाई शेर्पा किदुक अमेरिकाद्वारा सम्मानसहित ५० हजार डलर

डा. सन्दुक रुइतलाई शेर्पा किदुक अमेरिकाद्वारा सम्मानसहित ५० हजार डलर

काठमाडौं । विश्वविख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई शेर्पा किदुक अमेरिकाले सम्मानसहित ५० हजार १ अमेरिकी डलर सहयोग प्रदान गरेको छ।

किदुकका सदस्यहरूबाट संकलित उक्त रकम एक विशेष कार्यक्रमका बीच सम्मान सहित डा. रुइतलाई हस्तान्तरण गरिएको हो। शेर्पा किदुक संरक्षक समितिका संयोजक ल्हाक्पा रिन्जी शेर्पाका अनुसार, “डा. रुइतले आँखा उपचारको क्षेत्रमा पुर्‍याएको योगदान अत्यन्त प्रेरणादायी छ, त्यसैले हामीले सम्मानसहित यो सहयोग गरेका हौं।”

त्यस्तै, हिमालयन होप नेटवर्क संस्थाद्वारा संकलित ५ हजार ७ अमेरिकी डलर पनि शेर्पा किदुकमार्फत डा. रुइतलाई प्रदान गरिएको छ। संस्थाले डा. रुइतको कार्यमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै स्वयंसेवक र कोष संकलन अभियानलाई अझै व्यापक बनाउने योजना सार्वजनिक गरेको छ।

डा. रुइतले आफ्नो अमेरिका भ्रमणको क्रममा नेपालको सफल नेत्र उपचार मोडललाई हार्वर्ड, स्ट्यानफोर्ड, ब्राउन, बास्कम पाल्मर जस्ता अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाहरूसँग साझेदारी गर्दै विश्वव्यापी स्तरमा प्रवर्द्धन गर्ने योजना रहेको जानकारी दिनुभयो।

उहाँले नेपालमै अत्याधुनिक इन्ट्राकुलर लेन्स उत्पादन गर्ने कारखाना स्थापना गरेर विश्वभर निर्यात गर्ने तथा त्यसबाट प्राप्त आम्दानी कमजोर वर्गका लागि निःशुल्क आँखा उपचारमा लगाउने दीर्घकालीन योजना अघि सारेका छन्।

उक्त योजनाका लागि झन्डै ८ मिलियन डलर आवश्यक पर्ने र हालसम्म ३ मिलियन डलर संकलन भइसकेको उल्लेख गर्दै बाँकी ५ मिलियन जुटाउन नेपाली समुदायको सक्रिय सहयोग आवश्यक रहेको डा. रुइतले बताउनुभयो।