

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज चीनको बेइजिङमा आयोजना हुने एक अन्तर्राष्ट्रिय संवाद कार्यक्रममा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दैछिन्।
गत शनिवार राति प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेकी भण्डारीलाई हिजो बेइजिङमा सरकार प्रमुख सरह भव्य स्वागत गरिएको थियो। उनी आइतबार बिहान बेइजिङ पुगेकी थिइन्।
१० दिने चीन भ्रमणमा रहेकी भण्डारीले आज सोमबार र आउँदो शुक्रबार दुई फरक कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य दिने कार्यक्रम तय गरिएको छ।
आजको कार्यक्रममा चीनका छिमेकी राष्ट्रहरूका राजनीतिक दलका प्रतिनिधिहरूसँग संवाद हुनेछ, जहाँ भण्डारी प्रमुख अतिथि रहँदै मन्तव्य दिनेछिन्। कार्यक्रम बेइजिङको स्थानीय समयअनुसार सोमबार बिहान आयोजना गरिएको हो।
शुक्रबार भने उनी नागरिक स्तरको अनुभव आदान–प्रदान तथा पारस्परिक सिकाइसम्बन्धी चौथो संवाद कार्यक्रममा पनि प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछिन्।