

काठमाडौं: नेकपा एमालेले आगामी जेठ १५ गते गणतन्त्र दिवसलाई देशभरि उत्सवका रूपमा मनाउने निर्णय गरेको छ। आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सबै पालिका र काठमाडौं उपत्यकामा विशेष कार्यक्रमको आयोजना गर्न निर्देशन दिएको महासचिव शंकर पोखरेलले जानकारी दिए।
काठमाडौं उपत्यकामा गणतन्त्र दिवस सांस्कृतिक झाँकीसहित भव्य रूपमा मनाउन नेपाल जनसांस्कृतिक महासंघलाई कार्यक्रम संयोजनको जिम्मेवारी दिइएको उनले बताए। बैठकले गणतन्त्रलाई सवल र दिगो बनाउन पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको र व्यवस्थाविरुद्धका अवाञ्छित गतिविधि स्वीकार्य नरहेको पनि स्पष्ट पारे।
पोखरेलले जनताको अधिकार संरक्षण र गणतन्त्र स्थापनालाई जनताको उत्सवका रूपमा मनाउने एमालेको लक्ष्य रहेको बताए। साथै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा एमालेका नेताहरूको सहभागिता स्वाभाविक रहेको र भण्डारीको एमाले आन्दोलनसँगको सम्बन्धलाई स्मरण गराए।