एमाले निकट युवा संघको अध्यक्षमा थेबे र पुरीबीच प्रतिस्पर्धा

एमाले निकट युवा संघको अध्यक्षमा थेबे र पुरीबीच प्रतिस्पर्धा

पोखरा। नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको १०औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ। शनिबार प्रतिनिधिको नामावली सार्वजनिक भएसँगै निर्वाचनको तयारी तीव्र पारिएको हो। मतदानका लागि ४६ वटा इलेक्ट्रोनिक भोटिङ मेसिन तयारी अवस्थामा राखिएका छन्।

संघको अध्यक्ष पदमा वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। दुबै पक्ष दाबी नछोडेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो, यद्यपि अन्तिम प्रयासका रूपमा सर्वसम्मतिको सम्भावना अझै बाँकी रहेको बताइएको छ।

अध्यक्ष पदमा थेबेले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र पूर्वअध्यक्ष महेश बस्नेतको समर्थन पाएका छन्। अर्का दावेदार पुरीलाई स्थायी कमिटी सदस्य कर्ण थापा, पूर्वअध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंह र नेता विनोद ढकाललगायतको समर्थन छ। हाल प्रतिनिधिहरूबीच छलफल जारी रहेको र त्यसपछि उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढ्ने जनाइएको छ।

देशभरका पालिका, जिल्ला र प्रदेशबाट आएका १,८३६ प्रतिनिधिको सहभागितामा जारी महाधिवेशन आइतबार नयाँ नेतृत्व चयनसहित सम्पन्न गर्ने कार्यक्रम तय गरिएको छ।