कर्मचारीको गल्तीमा गृहमन्त्रीको राजीनामा माग्नु अनुचित : नेता सिटौला

कर्मचारीको गल्तीमा गृहमन्त्रीको राजीनामा माग्नु अनुचित : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले कुनै एक कर्मचारीको गल्तीलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु अनुचित भएको बताएका छन्।

आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै सिटौलाले कर्मचारीको व्यक्तिगत क्रियाकलापका आधारमा मन्त्रीको राजीनामा माग्दा गलत नजिर बस्ने चेतावनी दिए।

उनको यो अभिव्यक्ति कांग्रेस नेता डा. शेखर कोइरालाको भनाइपछि आएको हो, जसमा कोइरालाले शनिबार गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए।

सिटौलाले विगतमा मन्त्रीहरू आफैं संलग्न भएको अवस्थामा राजीनामा आवश्यक ठानिएको भएपनि अहिलेको घटनामा अध्यागमन विभागका कर्मचारीमाथि मात्र आरोप लागेको र अख्तियारले छानबिन गरिरहेको हुँदा केही समय पर्खिनुपर्ने धारणा राखे।

संविधानका विषयमा पनि बोल्दै सिटौलाले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रहको आवश्यकता नरहेको उल्लेख गरे। उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई परिमार्जन गरेर अझ प्रभावकारी बनाउने पक्षमा संविधान संशोधनको आवश्यकता औंल्याए।

सिटौलाले राजसंस्थाको पुनरागमन असम्भव भएको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको आवश्यकता नरहेको बताए। साथै, उनले कांग्रेसको १५ औं महाधिवेशन २०८३ सालको दशैंतिर आयोजना गर्ने तयारी गर्नुपर्ने धारणा पनि व्यक्त गरे।