

काठमाडौं : डेल्टा एयरलाइन्सको लस भेगासबाट एटलान्टाका लागि उडेको विमानमा एक महिला यात्रुले गरेको अराजक व्यवहारले उडानभरि अफरातफरी मच्चियो। उनले छेउमा बसेका अपरिचित पुरुष यात्रुलाई जबर्जस्ती चुम्बन गर्न थालेपछि स्थिति तनावपूर्ण बन्दै गएको थियो।
यो घटना सन् २०२१ को जुलाई महिनाको हो। विमान उडेको केही समयमै ती महिलाले छेउको यात्रुलाई अँगालो हाल्न खोजिन् र बारम्बार चुम्बन गर्न थालिन्। ती पुरुष यात्रु असहज भएर टाढिन खोज्दा चालक दललाई बोलाइएको थियो। एयर होस्टेस हस्तक्षेप गर्न पुगेपछि ती महिला झनै आक्रोशित भइन् र विमानमै कराउन थालिन्। उनले आफूलाई विमानबाट निकाल्न आग्रहसमेत गरिन्।
पाइलट र चालक दलले उनलाई शान्त पार्ने प्रयास गरे पनि महिलाको व्यवहार बेकाबु बन्दै गयो। उनले अर्को यात्रुमाथि आक्रमण गर्दै टोकिनसमेत पुगिन्। यसले उडानभरी भयको वातावरण सिर्जना गर्यो।
ती महिला यात्रुलाई नियन्त्रणमा लिएर पछाडि सिटमा राखिएको थियो। विमान एटलान्टा विमानस्थलमा अवतरण गरेपछि उनलाई सुरक्षाकर्मीको जिम्मा लगाइयो। घटनापछि फेडरल एभिएसन एडमिनिस्ट्रेशन (FAA) ले अनुसन्धान थाल्यो।
एफएएले निष्कर्षमा महिला यात्रुको व्यवहारले विमानको सुरक्षा जोखिममा पारेको भन्दै उनलाई ७७,२७२ अमेरिकी डलर (करिब १ करोड ५३ लाख नेपाली रुपैयाँ) जरिवाना गर्यो। यो अमेरिकी उड्डयन इतिहासमा यात्रुलाई लगाइएको एक उच्चतम जरिवाना मध्ये पर्छ।
उक्त घटना पछिको FAA को निर्णयले हवाई यात्रामा यात्रुहरूको अनुशासन र सुरक्षाको महत्त्वलाई थप उजागर गराएको छ।