

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हालै सम्पन्न पाँचदिने जापान भ्रमणलाई उपलब्धिमूलक भएको बताएकी छन्। भ्रमण सम्पन्न गरी गएराति स्वदेश फर्किएकी मन्त्री राणाले जापानका विदेशमन्त्रीसहित विभिन्न उच्चस्तरीय अधिकारीहरूसँग भएको भेटवार्ता नेपाल–जापान सम्बन्ध तथा सहयोगका दृष्टिले फलदायी रहेको जानकारी दिइन्।
उनले भ्रमणका क्रममा नेपाल–जापान सम्बन्ध, जापानी सहयोगमा सञ्चालित परियोजनाहरू, र ज्येष्ठ नागरिकसम्बन्धी अन्तरराष्ट्रिय अनुभवहरूबारे महत्वपूर्ण छलफल भएको बताइन्। टोकियोमा उनले जापानका विदेशमन्त्री इवाया ताकेसी, जाइकाका अध्यक्ष डा. तानाका अकिहिको, र उपविदेशमन्त्री इकुइना अकिकोसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन्।
भ्रमणका क्रममा मन्त्री राणाले जापानमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भई नेपालको तर्फबाट सम्बोधन पनि गरेकी थिइन्। विदेश भ्रमण सकिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित अधिकारीहरूले स्वागत गरेका थिए।