

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा रहेका नेताहरूले देशका लागि गरेका योगदानहरूलाई जनतासामु पुर्याउन आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कांग्रेस नेता तथा स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभामा बोल्दै सभापति देउवाले नेताहरूले सुरु गरेका तर अधुरा रहेका कामहरू सबै मिलेर पुरा गर्नुपर्नेमा जोड दिए।
“पार्टीमा रहेर नेताहरूले देशका लागि गरेका योगदानलाई अब जनतासमक्ष लैजान जरुरी छ,” देउवाले भने, “स्व. खगेन्द्रराज रेग्मी पनि पार्टीप्रति समर्पित र कर्मनिष्ठ नेता थिए।”
कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले राजनीति प्रतिफलको अपेक्षामा होइन, निरन्तर त्याग र संघर्षमा आधारित हुने बताउँदै राजनीतिक यात्रामा आउने अवरोध पार गर्दै अघि बढ्न सक्नुपर्ने धारणा राखे।
नेताहरूले जनताको सेवाका लागि गरेका समर्पणलाई स्मरण गर्दै कार्यक्रममा सहभागी नेताहरूले स्व. रेग्मीको योगदानलाई उच्च सम्मान गरेका थिए।