

कतार । कहिले ‘आतंककारी’ घोषणा गरिएको समूहको नेतृत्वमा रहेको सिरियाली सरकार आज अमेरिकी र युरोपेली साझेदारीको नयाँ ढोकामा प्रवेश गरेको छ। पछिल्लो राजनीतिक परिवर्तनसँगै सिरिया पुनः अन्तर्राष्ट्रिय व्यापारिक नक्शामा फर्कन थालेको छ।
सिरियामा बसर अल असद शासनपछिको ‘कू’ पश्चात सुन्नी अरब राष्ट्रहरूको समर्थनले नयाँ नेतृत्वलाई बल मिलेको हो। त्यसपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियामा नयाँ सिरियाली नेता अल शरासँग भेट गरी सिरियामाथि लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरे। यसैको केही समयमै युरोपेली संघले पनि आफ्ना प्रतिबन्ध फुकुवा गरेको हो।
यो निर्णयपछि हयात तहरीर अल शाम (एचटीएस) नेतृत्वको सरकार अत्यन्त खुसी भएको कतारी सञ्चारमाध्यमहरूले जनाएका छन्। पहिले अल कायदासँग सम्बन्धित रहेको एचटीएसलाई अमेरिका लगायतका पश्चिमी देशहरूले आतंकी संगठनको रूपमा सूचीबद्ध गरेका थिए। तर, अहिले ती नै मुलुकहरूले सम्बन्ध विस्तार गर्दैछन्।
प्रतिबन्ध हटेसँगै सिरियाली व्यवसायीहरूमा आशाको नयाँ किरण देखिएको छ। वर्षौंको आर्थिक अलगावपछि अब उनीहरूले अन्तर्राष्ट्रिय बजारमा आफ्नो स्थान पुनः सुरक्षित गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।
सिरियाली व्यवसायी हसन बन्दकजीले कतारी मिडियासँग भने, “हामीसँग काम छोडेका विदेशी कम्पनीहरू पुनः सम्पर्कमा आउन थालेका छन्। उनीहरू बजारमा फर्किने र आफ्नो स्थान सुरक्षित गर्ने तयारीमा छन्।”
प्रतिबन्ध फुकुवाले युद्धपछिको सिरियामा विदेशी लगानी र पुनर्निर्माणका कामहरूलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। दशक लामो गृहयुद्ध र अन्तर्राष्ट्रिय एक्लोपनपछि यो निर्णयले सिरिया आर्थिक पुनरुत्थानको बाटोतर्फ अघि बढ्ने संकेत दिएको विश्लेषकहरूको भनाइ छ।