वर्षमानको घोषणा: ‘सत्ताको खेल होइन, ०८४ को चुनावमा जनतासँग फर्किन्छौं’

वर्षमानको घोषणा: ‘सत्ताको खेल होइन, ०८४ को चुनावमा जनतासँग फर्किन्छौं’

पाल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले पार्टी सत्ताको खेलमा नभइ आगामी २०८४ सालको निर्वाचनमा जनतासँग फर्किने तयारीमा रहेको बताएका छन्।

शुक्रबार पाल्पाको रम्भा र पूर्वखोला गाउँपालिकामा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त भेलालाई सम्बोधन गर्दै पुनले सरकारको अंकगणितमा नलाग्ने स्पष्ट पारे। “हामी सत्ताको गणितीय खेलमा छैनौं, ०८४ पर्खेर बस्छौं,” पुनले भने, “सरकारमा हुँदा गरेका काम जनतालाई बुझाउँछौं, गल्ती स्वीकार्छौं र सुधार गर्दै अघि बढ्छौं।”

पुनले समावेशी अवसरको सन्दर्भमा गलत प्रवृत्तिको आलोचना गर्दै पहिले नै उच्च पदमा पुगेकाहरू, धनी परिवारका सन्तान तथा निजी स्कुलमा पढेकाहरूले समावेशी कोटाबाट अवसर लिने परिपाटी अन्त्य हुनुपर्ने बताए। “जनजाति, दलित, महिलाहरूलाई अवसर मिल्नुपर्छ, तर गरिब, सीमान्तकृत र पछाडि परेकाले पाउनु पर्छ,” उनले भने।

उनले जनयुद्धले उत्पीडित समुदायलाई राज्यमा हक दिलाएको दाबी गर्दै हाल निजामती सेवामा २८ हजार महिलाको प्रवेश, दलित, मधेसी, जनजातिको उपस्थिति र जातीय पहिचानको मान्यतालाई ऐतिहासिक उपलब्धि भने। “यो सबै जनयुद्धको देन हो,” उनले जोडे।

उनले शासक वर्गको भाषा, संस्कृति र पोसाकलाई मात्र राष्ट्रिय मान्यता दिने अतीतको प्रवृत्तिलाई गणतन्त्रले अन्त्य गरेको उल्लेख गर्दै गणतन्त्र, संघीयता, समावेशिता र सामाजिक न्याय नेपाली जनताको अधिकार भएको बताए।

पुनले राणा शासनविरुद्ध लडेका प्रथम सहिद लखन थापालाई गणतन्त्रका प्रथम प्रधानमन्त्री प्रचण्डले सहिद घोषणा गरेको प्रसंग पनि उल्लेख गरे।

प्रचण्ड नेतृत्वको सरकारमा रहँदा मगरको माघे संक्रान्तिलगायत विभिन्न समुदायका पर्वलाई राष्ट्रिय मान्यता दिइएको तर ओली नेतृत्वको सरकारले ती पर्व हटाएको आरोप पनि पुनले लगाए। उनले पर्वको महत्वलाई पुनः स्थापित गरेकोमा प्रचण्ड नेतृत्वको पछिल्लो सरकारलाई श्रेय दिए।

अन्तमा, पुनले माओवादी केन्द्र अहिले व्यवस्था सुदृढीकरणको अभियानमा रहेको बताउँदै हुलाकी राजमार्गपछि अब मध्यपहाडी लोकमार्ग जागरण अभियानमा जुटिरहेको जानकारी गराए। “हामी शासनको सेवक होइन, परिवर्तनको वाहक बन्न चाहन्छौं,” उनले भने।