

बर्लिन । जर्मनीले भिसा नीतिमा ठूलो परिवर्तन गर्दै सन् २०२५ जुलाई १ बाट ‘रिमोन्स्ट्रेशन’ भनिने अनौपचारिक भिसा अपील प्रक्रिया अन्त्य गर्ने निर्णय गरेको छ। यो निर्णयले विशेषगरी विद्यार्थी, काम खोज्ने व्यक्ति तथा पर्यटकहरूलाई प्रत्यक्ष असर पार्नेछ।
हालसम्म जर्मन भिसा अस्वीकृत भएपनि थप कागजात वा स्पष्टीकरण पेश गरेर पुनर्विचारको आग्रह गर्न सकिने व्यवस्था थियो। यो प्रक्रिया कानुनी नभई सहज र छिटो हुने भएकाले धेरैलाई राहत मिल्दथ्यो। तर अब, एकपटक भिसा अस्वीकृत भएपछि तपाईंले सोझै नयाँ आवेदन दिनु पर्नेछ वा जर्मनीको प्रशासनिक अदालतमा औपचारिक कानूनी अपील गर्नुपर्नेछ।
तर कानूनी अपील प्रक्रिया जटिल, समय लाग्ने र खर्चिलो हुने भएकाले अधिकांश आवेदकलाई यो व्यवहारिक विकल्प नहुन सक्छ। यस्तो अपीलका लागि प्रायः जर्मनीका स्थानीय वकिल आवश्यक पर्छन्, र मुद्दा समाधानमा दुई वर्षसम्म पनि लाग्न सक्छ।
जर्मन विदेश मन्त्रालयका अनुसार यो नीति परिवर्तन सन् २०२३ देखि परीक्षणमा रहेको पाइलट प्रोजेक्टको निरन्तरता हो। सरकारले दाबी गरेको छ कि यसबाट भिसा प्रक्रिया अझ छरितो र व्यवस्थित हुनेछ, किनभने कर्मचारीहरू अस्वीकृत फाइलहरूमा अल्झिनु नपर्नेछ।
नयाँ व्यवस्था लागू भएपछि हजारौं भिसा आकांक्षीहरू विशेष सावधानी अपनाउनुपर्नेछ। भिसा अस्वीकृत भएपछि सजिलो पुनरावलोकनको बाटो बन्द भएपछि, पहिले नै सही कागजात, कारण र तयारीसहित आवेदन गर्नु अब झनै महत्वपूर्ण बन्नेछ।