

काठमाडौं । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी आज उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गर्दैछिन्। शनिबार राति एयर चाइनाको उडान (फ्लाइट नम्बर CZ 3068) बाट ग्वाङ्झाओ हुँदै उनी राजधानी बेइजिङतर्फ जाने कार्यक्रम रहेको छ।
पूर्वराष्ट्रपति भण्डारी आइतबार बिहान ११ः५५ बजे बेइजिङ पुग्नेछिन्। चीन भ्रमणका क्रममा उनी दुईवटा महत्वपूर्ण कार्यक्रमहरूमा प्रमुख अतिथिका रूपमा सहभागि हुने कार्यक्रम तय गरिएको छ।
उनले सोमबार चीनका छिमेकी राष्ट्रहरूबाट आएका राजनीतिक दलका प्रतिनिधिहरूसँग हुने संवाद कार्यक्रममा मन्तव्य दिनेछिन्। त्यसैगरी शुक्रबार आयोजना हुने नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाइसम्बन्धी चौथो संवाद कार्यक्रममा पनि उनी प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नेछिन्।
यात्राका क्रममा भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीका साथै चीन सरकारका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ।
उनको नेतृत्वमा उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सल्लाहकार गोमा देवकोटा, प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टलगायत १४ सदस्यीय टोली चीन भ्रमणमा सहभागी हुनेछन्।