आजको मौसम : तीन प्रदेशमा वर्षा जारी, पाँच प्रदेशमा थप वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशमा वर्षा जारी, पाँच प्रदेशमा थप वर्षाको सम्भावना

काठमाडौं । देशमा हाल पश्चिमी वायु, स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न भागमा बदलीको अवस्था देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले नै मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र अन्य प्रदेशका एक-दुई ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमै पनि मौसम बदली नै रहनेछ। कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावित रहेको छ।

देशका अधिकांश पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सबैलाई आग्रह गरेको छ।