रवि लामिछाने प्रकरणमा न्यायाधीशहरूको मानमर्दन नगर्न सर्वोच्चको चेतावनी

रवि लामिछाने प्रकरणमा न्यायाधीशहरूको मानमर्दन नगर्न सर्वोच्चको चेतावनी

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका समर्थकहरूलाई न्यायिक आदेश र न्यायाधीशहरूविरुद्ध अशोभनीय टिप्पणी नगर्न कडा चेतावनी दिएको छ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रवि लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल जोशीलाई थुनामा राख्ने आदेश सदर गर्दै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत न्यायालयप्रति भइरहेको आलोचना र लाञ्छनाको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

आदेशमा उल्लेख गरिएको छ, “न्यायाधीशहरूलाई नियोजित ढंगले मानमर्दन गर्ने, जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने कार्यले न्याय सम्पादन प्रक्रियामा अनपेक्षित अवरोध ल्याउने भएकाले यस्ता क्रियाकलापप्रति सबै पक्ष संवेदनशील रहनुपर्छ।”

सर्वोच्चले स्वच्छ र रचनात्मक टिप्पणी सधैं स्वागतयोग्य भए पनि विद्वान् नायब महान्यायाधिवक्ता तथा अधिवक्ताहरूले सामाजिक सञ्जालमा न्यायाधीशहरूको चरित्र हत्या हुनेगरी टिप्पणी भइरहेको जानकारी गराएको भन्दै यस्ता गतिविधिबाट टाढा रहन आग्रह गरेको छ।