

काठमाडौं । प्रहरीले तीनकुनेमा राजावादीहरूले आयोजना गरेको अराजक प्रदर्शनको अनुसन्धान पूरा गरी १०८ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले ५७ दिनमा अनुसन्धान सकाएर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो। अनुसन्धान प्रतिवेदनमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव र संगठित अपराधलगायतका अभियोगमा मुद्दा चलाउनुपर्ने राय दिइएको छ।
चैत १५ मा भएको प्रदर्शन अराजक बन्दै जाँदा दुईजनाको मृत्यु भएको थियो भने केही घरमा आगजनीसमेत भएको थियो। उक्त घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद धवलशमशेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईंसमेत प्रतिवादीमा परेका छन्।