भिजिट भिसा प्रकरणमा संलग्नताको आशंकामा त्रिभुवन विमानस्थलका आठ कर्मचारी सरुवा

भिजिट भिसा प्रकरणमा संलग्नताको आशंकामा त्रिभुवन विमानस्थलका आठ कर्मचारी सरुवा

काठमाडाैं ।  भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका आठ जना कर्मचारीको सरुवा गरिएको छ। गृहमन्त्रालयले अध्यागमन कार्यालयका उच्च तहका कर्मचारीहरू समेतको संलग्नता भएको आशंकामा अनुसन्धान थाल्दै, नायब सुब्बा र कम्प्युटर अपरेटरहरू समेतको सरुवा गरेको हो।

सरुवा हुने कर्मचारीहरूमा नायम सुब्बा प्रेमप्रसाद पौडेल र नायब सुब्बा वीरभद्र जोशीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा र नरबहादुर थापालाई जिल्ला प्रशासन कार्यालय बाँकेमा पठाइएको छ।

त्यस्तै, कम्प्युटर अपरेटर उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, धनराज उपाध्याय र सहायक कम्प्युटर कमला श्रेष्ठलाई कारागार व्यवस्थापन विभाग वा त्यसअन्तर्गतका कार्यालयमा सरुवा गरिएको छ।

यसअघि, गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई बयान लिइसकेको छ। उनी जेठ ६ गतेमात्र अध्यागमन विभागबाट गृहमन्त्रालयमा सरुवा भएका थिए भने, अख्तियारले उनलाई जेठ ७ गते नियन्त्रणमा लिएको थियो। हाल आयोगले भट्टराईको मोबाइल पनि नियन्त्रणमा लिई फरेन्सिक परीक्षणका लागि प्रयोगशालामा पठाइसकेको छ।