

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व प्रहरी उपरीक्षक (डीआईजी) छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आज (शुक्रबार) पनि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा दुवै रिटको सुनुवाइ मंगलवारदेखि जारी छ। बिहीबार रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेका थिए भने त्यसपछि जोशीका कानुन व्यवसायीले बहस गरेका थिए। सरकारी वकिलतर्फ गोविन्द खनाल, लोकराज पराजुली लगायतले बिहीबार बहस पेस गरेका थिए।
सरकारी पक्षको बहस सकिएकाले आज पीडित पक्षका कानुन व्यवसायीले आफ्नो तर्क राख्नेछन्। त्यसपछि जवाफी बहस सुरु हुनेछ।
गएको चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। त्यसअघि जिल्ला अदालत रूपन्देहीले उनलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
धरौटीमा रिहाको आदेश बदर गर्न माग गर्दै सरकारी वकिल र लामिछाने दुवै उच्च अदालत पुगेका थिए। सोही सुनुवाइको परिणामस्वरूप उनलाई थुनामा पठाउने आदेश भएको थियो। अहिले सर्वोच्च अदालतमा सो आदेशविरुद्धको रिटको सुनुवाइ जारी छ।