काठमाडौँ, २७ भदौ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा जारी साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमै रोकिएको छ । माल्दिभ्ससँग पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको हो । नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएपछि नेपाल फेरि एकपटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने सुवर्ण अवसर गुमाएको छ । चौथो पटक साफको सेमिफाइनल खेलेको नेपाल अहिलेसम्म फाइनलमा पुग्न सकेको थिएन । आज ढाकामा पनि नेपालको त्यही नियति दोहोरियो ।
आज भएको पहिलो सेमिफाइलनमा नेपाल माल्दिभ्ससँग ३–० गोल अन्तरले पराजीत भएको हो । पहिलो हाफको खेल सकिँदासम्म १–० गोलले पछाडि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खायो । नवौँ मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घातीले पेनाल्टी बक्सको केही बाहिर पाएको फ्री किकलाई गोलमा परिणत गरेर माल्दिभ्सलाई अग्रता दिलाएका थिए ।
त्यसैगरी इब्राहिम हसनले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै नेपालको उपाधि सम्भावना समाप्त पारे । ८४औँ मिनेटमा पहिलो गोल गरेका उनले ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै माल्दिभ्सलाई प्रतियोगिताको फाइनल पुर्याए ।
वर्षाले प्रभावित भएको खेलमा नेपालले आफ्नो स्वाभाविक खेल प्रदर्शन गर्न सकेन । २८औँ मिनेटको खेल सकिँदा हावाहुरी र भीषण वर्षा भएपछि खेला ३० मिनेट रोकिएर पुनः शुरु भएको थियो । हारसँगै साफ च्याम्पियनसिप जित्ने नेपालको सपना समाप्त भएको छ । २५ वर्षे साफको इतिहासमा नेपाल सेमिफाइलनभन्दा माथि पुग्न सकेको छैन ।
माल्दिभ्स भने भाग्यमानी टोली साबित भएको छ । समूह चरणमा एक गोल पनि गर्न नसेकेको र एक खेल पनि जित्न नसेकेको माल्दिभ्सले आज उत्कृष्ट खेल प्रदर्शन गर्यो । समूह चरणमा भारतसँग पराजित भएको माल्दिभ्स श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएपछि गोलाप्रथाद्वारा सेमिफाइनल पुगेको थियो ।