

काठमाडौं : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ भने बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले समेत आंशिक असर पुर्याएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज (शुक्रबार) दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने महाशाखाले जनाएको छ।
आज रातिको लागि पनि कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम खुला रहने अपेक्षा गरिएको छ।
राति पनि ती पहाडी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र हिमाली भेगमा हल्का हिमपातको सम्भावना कायम रहनेछ।
महाशाखाले हावाहुरी, चट्याङ र वर्षाबाट सतर्क रहन सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।