

धनुषा । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। पुनर्गठित मन्त्रिपरिषद्मा जनमत पार्टीका तर्फबाट वसन्तकुमार कुशवाहा र सञ्जयकुमार यादव मन्त्री नियुक्त भएका छन्। उनीहरूले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार साँझ आयोजित समारोहमा कुशवाहा र यादवलाई शपथ गराएकी हुन्। मन्त्री कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने यादवले वन तथा वातावरण मन्त्रालयको नेतृत्व सम्हालेका छन्।
मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा पुनर्गठित मन्त्रिपरिषद् नेपालको संविधानको धारा १६८ (९) अनुसार गठन गरिएको हो। नयाँ मन्त्रिपरिषद्मा अब १२ जना मन्त्री छन्।
पुनर्गठित मन्त्रिपरिषद्मा रहेका अन्य सदस्यहरूमा मुख्यमन्त्री सतिशकुमार सिंह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, भौतिक पूर्वाधारमन्त्री सरोज यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा तथा संस्कृतिमन्त्री रानी तिवारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधन सिंह, अर्थमन्त्री सुनिल यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव र श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय छन्।