

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बेपत्ता भएका माओवादी योद्धा जीवित नरहेको बताएका छन्।
बुधबार रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले “अब बेपत्ता भनेर बस्ने अवस्था छैन, सबै शहीद भइसके” भन्ने धारणा राखेका हुन्।
माओवादीको ‘मध्यपहाडी लोकमार्ग जागरण अभियान’ अन्तर्गत त्यहाँ पुगेका प्रचण्डले भने, “बेपत्ता भनेर मुखले मात्रै भन्न बाँकी हो, वास्तविकतामा कोही जीवित छैनन्।”
उनले औपचारिक रूपमा राज्यले कानुनी प्रक्रिया पूरा नगरेसम्म बेपत्ता भन्ने बाध्यता रहेको स्वीकार गर्दै भने, “तर अब राज्यले कानुनी रूपमा नभनेसम्म मात्रै उनीहरू बेपत्ता मानिएका छन्।”
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बेपत्ता योद्धाका परिवारलाई मानसिक रूपमा उनीहरूलाई शहीदको रूपमा स्वीकार गर्न आग्रह गरे।
“बेपत्ता योद्धाका परिवारजनले मानसिकता बनाउनुहोला, उहाँहरू पनि महान शहीदकै श्रेणीमा आउनुहुन्छ,” उनले भने, “शहीद परिवारले पाउने सबै सम्मान र सुविधा बेपत्ता योद्धाका परिवारले पनि पाउनुहुनेछ।”