

दमौली । नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वऊर्जामन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक समृद्धिका लागि ऊर्जा क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन्।
शनिबार बिहान तनहुँको आँबुखैरेनीमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षणपछि डा. महतले जलस्रोतको अधिकतम उपयोगमार्फत राष्ट्रलाई समृद्धिको दिशामा लैजान सकिने बताए।
उनले भने, “ऊर्जा क्षेत्रबाट औद्योगिक विकासलाई गति दिन सकिन्छ, विद्युतीय गाडीको प्रयोग बढाएर पेट्रोलियम आयात घटाउन सकिन्छ। त्यसैले हामी ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्नैपर्छ।”
प्रवक्ता महतले आयोजनाको मुख्य प्याकेज र विद्युतगृहको स्थलगत अवलोकन गरेका थिए। आयोजना प्रमुख श्यामजी भण्डारीले हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै निर्माण कार्य तोकिएको समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए।
डा. महतले तनहुँ जलविद्युत् आयोजनालाई राष्ट्रिय ऊर्जा आत्मनिर्भरता र आर्थिक समृद्धिको आधारका रूपमा उल्लेख गर्दै निर्धारित समयमै कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिए।