

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणले हालै सार्वजनिक गरेको श्वेतपत्र यथार्थमा आधारित रहेको बताएका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले श्वेतपत्रले प्राधिकरणको वास्तविक वित्तीय अवस्था सार्वजनिक गरेको बताए।
उनले प्राधिकरणको घाटा र नाफासम्बन्धी विषयमा विभिन्न दुविधा उत्पन्न भएको उल्लेख गर्दै अडिट प्रक्रियालाई चाँडै अघि बढाइने जानकारी दिए। अघिल्लो कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई नाफामा रहेको बताएपनि महालेखा परीक्षकको रिपोर्टले घाटा देखाएको भन्दै त्यसबेला अडिट निर्णय भएपनि कार्यान्वयनमा अड्चन आएको उनले स्पष्ट पारे।
बैठकमा माओवादी सांसद माधव सापकोटाले कुलमान घिसिङको योगदानलाई अवमूल्यन गर्न नहुने बताए। उनले कुनै पनि राष्ट्रसेवकको मनोबल गिराउने कार्य अनुचित भएको भन्दै प्राधिकरणका वर्तमान प्रमुखसहित आवश्यक परे महालेखा र पूर्व कार्यकारी निर्देशक घिसिङलाई पनि समितिमा बोलाएर वस्तुस्थितिबारे बुझ्नुपर्ने माग गरे।
सांसद सापकोटाले कुलमानको बचाउ प्रतिपक्षको जिम्मेवारीजस्तो र खेदो खन्ने सत्तापक्षको प्रवृत्ति बन्द हुनुपर्नेमा जोड दिए।