

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले बुधबार बिहान अर्थ मन्त्रालय पुगेर उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा अर्थमन्त्री पौडेलले गभर्नर पौडेललाई हार्दिक बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी देशको अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्न गभर्नरले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे।
गभर्नर पौडेलले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सरकारको वित्त नीति कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै, वित्तीय क्षेत्रको प्रभावकारिता बढाउन राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षण क्षमतामा सुधार ल्याउने बताएका छन्।
सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायत अधिकारीहरूले गभर्नर पौडेललाई बधाई तथा शुभकामना दिएका थिए।