कांग्रेसले विकासलाई प्राथमिकतामा राखेको छ: प्रवक्ता डा. महत

कांग्रेसले विकासलाई प्राथमिकतामा राखेको छ: प्रवक्ता डा. महत

दमौली: नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले विकास–निर्माणका कामलाई सधैं उच्च प्राथमिकतामा राखेको बताएका छन्।

नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महतले कांग्रेसको नेतृत्वमा देश विकासको मार्गमा सशक्त ढंगले अघि बढ्ने दाबी गरे।

पूर्व अर्थमन्त्री समेत रहेका महतले लोकप्रिय देखिन हचुवाका भरमा कार्यक्रम घोषणा गर्ने प्रवृत्तिबाट सावधानी अपनाउनुपर्ने बताएका छन्। बजेट छर्ने प्रवृत्तिप्रति लक्षित गर्दै उनले यस्ता अभ्यासहरू नियन्त्रण गर्न आवश्यक रहेको बताए।

उनले पार्टीभित्रको एकताको आवश्यकता पनि औँल्याउँदै, कांग्रेस एकताबद्ध भए आगामी निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बन्ने स्पष्ट दाबी गरे।

उनका अनुसार यद्यपि कांग्रेस एक्लै प्रतिस्पर्धा गरेर बहुमत ल्याउने पक्षमा छ, तर हालको निर्वाचन प्रणालीले कुनै एक दललाई स्पष्ट बहुमत नदिने भएकाले सरकार गठनका लागि गठबन्धन गर्नुपर्ने बाध्यता रहेको छ।