

भक्तपुर । ख्वप कलेज, भक्तपुरमा यही जेठ ८ र ९ गते चौथो ख्वप राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ। “वातावरण, सामाजिक र शासन व्यवस्थामा नविनता” मुख्य विषयवस्तिका साथ सञ्चालन हुने सम्मेलनमा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान कार्यपत्र प्रस्तुत गरिनेछ।
ख्वप कलेजले विगतमा तीनपटकसम्म यस्ता सम्मेलन सफलतापूर्वक आयोजना गरिसकेको छ। यसपटकको सम्मेलन ख्वप कलेज र विश्वविद्यालय अनुदान आयोगको संयुक्त पहलमा हुन लागेको हो। सम्मेलनका संयोजक डा. राजकुमार प्रधानका अनुसार यसपटक अन्तर्राष्ट्रिय तहका अनुसन्धान कार्यपत्र पनि समावेश गरिएका छन्।
सम्मेलनको पहिलो दिन व्यवस्थापन संकायका डिन प्रोफेसर डा. महानन्द चालिसे र नेपाल खुला विश्वविद्यालयका डिन प्रोफेसर डा. अरहन स्थापितले उद्घाटन सत्रमा प्रमुख सम्बोधन (किनोट स्पिच) दिनेछन्।
सम्मेलनको दोस्रो दिन “शासन पुनःपरिभाषा: दिगो भविष्यका लागि कानुनी, वातावरणीय र व्यवस्थापकीय समन्वय” शीर्षकमा विशेष प्यानल डिस्कसन आयोजना गरिनेछ। यसमा वरिष्ठ कानुनविद् डा. भीमाजुर्न आचार्य, त्रिभुवन विश्वविद्यालय वातावरण विभागकी प्रोफेसर डा. रेजिना मास्के, र बाग्मती विश्वविद्यालयका डीन डा. गंगाराम विश्वकर्मा सहभागी हुनेछन्।
ख्वप कलेजका प्राचार्य प्रकाश कुमार श्रेष्ठका अनुसार अनुसन्धानले शैक्षिक उन्नयन र विकास प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याउने भएकाले यस्ता सम्मेलनहरू आवश्यक र प्रभावकारी हुने बताएका छन्।
दुई दिने यस सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले गर्ने कार्यक्रम छ।

