‘सरकार ढल्दैन, गठबन्धन २०८४ को चुनावसम्म टिक्छ’ : एमाले महासचिव पोखरेल

‘सरकार ढल्दैन, गठबन्धन २०८४ को चुनावसम्म टिक्छ’ : एमाले महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धन २०८४ सालको निर्वाचनसम्म निरन्तर रहने दाबी गरेका छन्।

प्रेस चौतारी दाङ शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले “सरकार ढल्ने” भन्ने हल्लालाई निराधार ठहर गरे। सत्ता साझेदार दलहरूबीच कुनै असमझदारी नहुन्जेल सरकार नढल्ने उनको दाबी छ।

पोखरेलले भने, “दुई दलबीच असमझदारी नभएसम्म सरकार ढल्दैन। त्यसैले असमझदारी नभएसम्म सरकार ढल्छ भन्नु पर्ने कुनै कारण छैन।”

उनले एमाले र काँग्रेस मिलेर सरकार सञ्चालन गर्नुको उद्देश्य साना दलले ठूला दललाई नियन्त्रण गर्ने गलत प्रवृत्तिको अन्त्य गर्नु रहेको बताए। गठबन्धन सरकार एक दलको नीति होइन, सामूहिक निर्णय र नीतिको परिणाम भएको उनको भनाइ छ।

महासचिव पोखरेलले यो सत्ता संरचना चुनावी परिणामको उपज भएको स्मरण गराउँदै यसको दीर्घकालीन स्थायित्वप्रति विश्वास व्यक्त गरे।