

बेइजिङ । चिनियाँ सरकारले देशभरका सरकारी कार्यालयहरूमा हुने अत्यधिक खर्च नियन्त्रण गर्न नयाँ निर्देशन जारी गरेको छ। राष्ट्रपति सी जिनपिङको नेतृत्वमा सरकार तथा कम्युनिष्ट पार्टीले सबै तहका अधिकारीहरूलाई मदिरा, चुरोट, महँगो खाना, अनावश्यक भ्रमण र कार्यालय सजावटमा हुने खर्च कटौती गर्न आदेश दिएको हो।
सरकारले अब सरकारी कार्यक्रममा रक्सी, चुरोट र महँगो खानाको सेवा बन्द गर्ने निर्णय लिएको छ। कार्यालयहरूमा हुने फजुल फूल सजावट समेत निषेध गरिएको छ। सरकारी स्रोतको सही सदुपयोग गर्न र अनावश्यक खर्चलाई रोक्न निर्देशन दिइएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।
यो निर्णय चीनमा लगातार घट्दो राजस्व र बढ्दो ऋणको पृष्ठभूमिमा आएको हो। ब्लूमबर्गको रिपोर्ट अनुसार चीनका स्थानीय सरकारहरू हाल झण्डै ९ ट्रिलियन अमेरिकी डलर बराबरको ऋणमा डुबेका छन्। जग्गा बिक्रीबाट प्राप्त आम्दानी कम हुँदै गएको र महामारीपछि आर्थिक पुनःउत्थान सुस्त बनेका कारण खर्च कटौती अपरिहार्य भएको चिनियाँ विश्लेषकहरूको ठम्याइ छ।
राष्ट्रपति सीले २०२३ देखि नै सरकारी भ्रष्टाचार र विलासी खर्चविरुद्ध अभियान चलाईरहेका छन्। सोही अभियानलाई अझ प्रभावकारी बनाउन खर्च कटौतीका लागि यो कडा निर्देशन जारी गरिएको हो।
सन् २०२४ मा बेइजिङ सरकारले स्थानीय सरकारहरूमा बढ्दो ऋणसँग सम्बन्धित जोखिम न्यूनिकरण गर्न विशेष कार्यक्रमसमेत सुरु गरिसकेको छ। यसबाट आर्थिक स्थायित्व कायम राख्न र विकासलाई गन्तव्यतर्फ डोर्याउन सकिने सरकारको विश्वास छ।