कोशी र सुदूरपश्चिम बाहेक अधिकांश प्रदेशमा वर्षाको सम्भावना

कोशी र सुदूरपश्चिम बाहेक अधिकांश प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं: देशमा हाल पश्चिमी वायु, स्थानीय वायु, साथै बंगालको खाडी र अरब सागरबाट आएका जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा देखिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोको समयसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। यिनै क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।

रातिपनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। कोशी र मधेश प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावनासमेत रहेको छ।

महाशाखाले मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहितको वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता र तयारी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।