डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा नियुक्त

डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा नियुक्त

काठमाडौं : सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकपछि सञ्चार, सूचना तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पौडेलको नियुक्तिबारे जानकारी दिए।

गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सरकारसमक्ष पेश गरेको थियो। सूचीमा पहिलो स्थानमा डा. पौडेल, दोस्रोमा निलम ढुंगाना र तेस्रोमा दिनेश भट्टराई थिए। तीमध्येबाट सरकारले डा. पौडेललाई रोजेको हो।

गभर्नर नियुक्त हुनु अघि पौडेल गभर्नर सिफारिस समितिमा विज्ञ सदस्यका रूपमा कार्यरत थिए। तर, गभर्नर बन्ने सम्भावना देखिएपछि उनले सदस्य पदबाट राजीनामा दिएर प्रतिस्पर्धामा सहभागी भएका थिए।

नेपाल राष्ट्र बैंकमा गभर्नरको पद चैत २४ गतेदेखि रिक्त थियो। त्यसयता डेपुटी गभर्नर निलम ढुंगानाले कार्यबाहक गभर्नरको रूपमा काम सम्हाल्दै आइरहेका थिए।