प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने राजेन्द्र लिङ्देनकाे चेतावनी

प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने राजेन्द्र लिङ्देनकाे चेतावनी

काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि जेठ १५ (गणतन्त्र दिवस) देखि सुरु हुने आन्दोलन निर्णायक हुने बताएका छन्। उनले प्रधानमन्त्रीलाई ‘भाग्न बाध्य पार्ने गरी’ आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा लिङ्देनले भने, “यदि सम्झौता नगर्ने हो भने प्रधानमन्त्रीलाई हेलिकोप्टर चढेर जान छुट दिनुपर्छ। हाम्रो आन्दोलन त्यसरी नै अगाडि बढ्छ।” उनले आन्दोलन यसपटक टुंगोमा पुर्‍याइने दाबी गर्दै जनस्तरमा व्यापक सहभागिता जुटाउन आह्वान गरे।

अध्यक्ष लिङ्देनले सबैलाई परिवारसहित आन्दोलनमा सहभागी हुन आग्रह गरे। “अब एक्लाएक्लै होइन, सिंगो परिवारसहित आन्दोलनमा आउनुहोस्। सके छरछिमेक र आफन्तलाई पनि ल्याउनुहोस्, नसके घरमा ताला लगाएर आउनुहोस्,” उनले भने।

आन्दोलन पूर्णरूपमा शान्तिपूर्ण र अहिंसात्मक हुने दाबी गर्दै उनले भनाइ स्पष्ट पारे, “हाम्रो आन्दोलन आयोजकको पूर्ण नियन्त्रणमा हुनेछ। कुनै हिंसा हुँदैन र अरूलाई पनि हिंसा गर्न दिँदैनौं।”

उनले मानव अधिकार आयोग तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई आन्दोलनको निगरानी गर्न आग्रह गर्ने बताए। कार्यकर्तालाई पनि हिंसाविहीन आन्दोलनको मार्गमा चल्न निर्देशन दिँदै, भारतको ब्रिटिश शासनविरुद्धको सत्याग्रहलाई उदाहरणस्वरूप प्रस्तुत गरे।

“जसरी १९० वर्षको ब्रिटिश शासन सत्याग्रहबाट अन्त्य भयो, त्यसरी नै हामीले पुगनपुग दुई दशकको गणतन्त्रलाई पनि शान्तिपूर्ण आन्दोलनबाटै परिवर्तन गर्छौं,” लिङ्देनले भने।

उनको भनाइमा यो आन्दोलन कुनै पार्टीको मात्र नभई आम देशबासीको आन्दोलन हो, र सबैलाई राष्ट्रिय झण्डामुनि एकताबद्ध गराएर अघि बढाउने तयारी भइरहेको छ।