

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याउन सक्ने सम्भावना प्रष्ट पारेका छन्।
सोमबार काठमाडौंमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले समानुपातिक प्रणालीले बहुमत ल्याउन कठिन भए पनि एमालेका लागि त्यो असम्भव नरहेको बताए।
प्रधानमन्त्री ओलीले भने, “हामीले संविधानमा तय गरेको प्रणालीभित्रै रहेर एकल बहुमत प्राप्त गर्ने रणनीति बनाउनुपर्छ। यो कठिन भए पनि सम्भव छ, र त्यसकै लागि एमाले जुटेको छ।”
उनले विकास र सुशासनमा मुलुकलाई अगाडि बढाउन एमालेलाई निर्णायक शक्ति बनाउनु आवश्यक रहेको धारणा व्यक्त गरे। एमालेले “व्यक्तिगत वा पार्टीगत होइन, राष्ट्रिय हित र जनताको पक्षमा काम गर्दै आएको” उनले स्पष्ट पारे।प्रधानमन्त्री ओलीले विपक्षीहरूले जनतामाझ भ्रम फैलाउन खोजिरहेको आरोप लगाउँदै, त्यस्तो भ्रम चिर्न पार्टीका कार्यकर्ता एकताबद्ध र सशक्त ढंगले लाग्नुपर्नेमा जोड दिए।
उनले कम्युनिस्ट आन्दोलन र पार्टीलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने पनि आग्रह गरे।