

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आयोजना गर्ने कार्यक्रममा पटक–पटक बोलाइए पनि सहभागिता जनाउन नआउने व्यक्तिहरूलाई अबदेखि नबोलाउन निर्देशन दिएका छन्।
सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले विशेषगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै टिप्पणी गरे। उनले भने, “सधैं कार्यक्रममा नाम राखिरहनुपर्ने, तर कहिल्यै नआउने। त्यसको कुनै अर्थ हुँदैन। यस्तो मान्छेहरूलाई अब कार्यक्रमको सूचीमा नराख्नुस्,” प्रधानमन्त्रीको कडा चेतावनी थियो।
प्रधानमन्त्री ओलीले सरकारी आयोजकहरूलाई रेकर्ड हेरेर सहभागिता नजनाउने व्यक्तिलाई पुनः नबोलाउने व्यवस्था गर्न निर्देशन दिए। “नाम सधैं झुन्ड्याएर राखिरहने, तर कहिल्यै आउँदैनन् भने त्यसको के अर्थ? यस्तो परम्परा अब तोड्नुपर्छ,” उनले भने।
प्रधानमन्त्रीले गणतन्त्र दिवसलाई जनस्तरमा मनाउनुपर्ने र सिर्फ सरकारी कार्यक्रममै सीमित नराख्नुपर्ने धारणा पनि राखे। “गणतन्त्र सबैको हो। जनतासँग जोडिएर यसलाई उत्सवका रूपमा मनाउनुपर्छ,” उनले उल्लेख गरे।