

काठमाडौं। राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले सोमबार दायर गरेको आरोपपत्रमा गैरकानुनी लाभ लिने र सरकारलाई हानी पुर्याउने नियतले भ्रष्टाचार गरिएको उल्लेख गरिएको छ। मुद्दामा तत्कालीन सहायक निर्देशक रमेश पौडेलसहित अन्य तीन कर्मचारी तथा एक निजी कम्पनीका प्रतिनिधि पनि प्रतिवादी छन्। आर्थिक वर्ष २०७५/०७६ मा भएको उपकरण खरिद प्रक्रियामा अनियमितता गरी ५ करोड ७९ लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरिएको आरोप आयोगले लगाएको छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले एनआईटीसी/जीएनसीबी–६–०७५/०७६ शीर्षकमा सार्वजनिक खरिद प्रक्रिया अघि बढाएको थियो। २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ लागत अनुमान बनाइएपछि म्याक्स इन्टरनेशनल प्रालिले २०७६ असार ४ गते बोलपत्र पेस गरेको थियो।
त्यसअनुसार ‘ट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी’ शीर्षकमा भ्याट बाहेक २ करोड ६५ लाख, र ‘अनसाइट सपोर्ट’ शीर्षकमा भ्याट बाहेक ३ करोड १४ लाख रुपैयाँ भुक्तानी गरिएको देखिएको छ।
अख्तियारले यी कार्यहरूमा मिलेमतो, लागत अनुमानमा हेरफेर तथा कार्यसम्पादन बिना नै रकम भुक्तानी गरिएको भन्दै सबै प्रतिवादीमाथि भ्रष्टाचारको अभियोगमा विगो सहित कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो।