

काठमाडौं । चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ३-० गोलअन्तरले पराजित गर्दै महिला एफए कपको उपाधि जितेको छ। आइतबार राति वेम्बली रंगशालामा भएको फाइनल खेलमा चेल्सीले एकतर्फी प्रदर्शन गर्दै उपाधि कब्जा गरेको हो।
यो जितसँगै चेल्सीले छैटौं पटक महिला एफए कपको च्याम्पियन बन्ने कीर्तिमान बनाएको छ। साविक विजेता युनाइटेडलाई दबाबमा राख्दै चेल्सीले तीन गोल गरेको खेलमा स्यान्डी बाल्टिमोरले दुई र क्याटरिना मकारियोले एक गोल गरे।
खेलको पहिलो हाफको अन्त्यमा, ४५औं मिनेटमा बाल्टिमोरले पेनाल्टीमार्फत चेल्सीलाई अग्रता दिलाइन्। त्यसपछि दोस्रो हाफको ८४औं मिनेटमा मकारियोले गोल गर्दै स्कोर २-० बनाइन्। अन्तिम इन्जुरी समयमा बाल्टिमोरले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको जित सुनिश्चित गरिन्।
यो सिजन चेल्सीको तेस्रो घरेलु उपाधि हो। यसअघि टोलीले महिला सुपर लिग र महिला लिग कपको उपाधिसमेत जितिसकेको छ, जसले क्लबको उत्कृष्ट प्रदर्शनलाई अझ मजबुत बनाएको छ।