दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अनुमति 

दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अनुमति 

काठमाडौं  । तीनकुने घटनासँग सम्बन्धित मुद्दामा दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अनुसन्धान आवश्यक भन्दै थप म्याद दिएको हो।

योसँगै उक्त घटनासम्बन्धी मुद्दा सुरु भएको ५६ दिन पुगेको छ। प्रहरीले अबको केही दिनमै अनुसन्धान सकाएर प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ। सोही आधारमा सरकारी वकिलको कार्यालयले झण्डै १०० जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्ने तयारी गरिरहेको छ।

प्रसाईंसहितका व्यक्तिहरूमाथि आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ। प्रहरीले विशेषगरी राज्यविरुद्धको कसुरमा २८ जनालाई लक्षित गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शनमा सहभागी भएका प्रसाईंले सो क्रममा प्रहरीमाथि गाडी चलाउने प्रयास गरेका थिए। त्यसपछि फरार भएका उनी भारत भागेका थिए भने पछि पक्राउ परेर नेपाल ल्याइएको हो।