

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले राजनीति व्यवस्था र संविधानविरोधी तत्वहरूको सक्रियता बढेको भन्दै यसलाई गम्भीरतापूर्वक लिन निर्देशन दिएका छन्।
आज बिहान भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले आगामी जेठ १५ गते राजावादीहरूले गर्ने भनिएको प्रदर्शनमा उच्च सतर्कता अपनाउन भने।
आईजीपी थापाले भने, “कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिनुहोस्।” उनले प्रदर्शनका क्रममा कुनै पनि अराजक गतिविधि सह्य नहुने कुरा स्पष्ट गर्दै सबै प्रहरी युनिटलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
प्रहरी कर्मचारीबीच कुटपिटको घटना बढिरहेको विषयमा उनले भने, “ड्यूटीको क्रममा वा कार्यालयमा प्रहरी कर्मचारीले आपसमा झगडा र हातपात गर्नुजस्ता अमर्यादित कार्य संगठनका लागि सह्य नहुने हो।”
थापाले थपे, “पब्लिकको अगाडि ठूलो दर्जाका अफिसरले सानो दर्जाका कर्मचारीमाथि हातपात गर्नु मर्यादाहीन र संगठनका लागि लज्जास्पद कुरा हो।”
गत साता नागढुंगा चेकपोष्टमा ट्राफिक इन्स्पेक्टरले सिभिल पुलिसका जवानमाथि हातपात गरेको घटनासँगै प्रहरी संगठनको छवि बिग्रिएको इङ्गीत गर्दै थापाले भने, “गलत काम गर्ने कुनै पनि प्रहरी कर्मचारीलाई विधिअनुसार सजाय हुनेछ, तर अन दी स्पट हातपात गर्नु उचित होइन।”