अचानक रक्सी छाड्दा देखिने समस्या र त्यसका फाइदाहरू

अचानक रक्सी छाड्दा देखिने समस्या र त्यसका फाइदाहरू

काठमाडौं । आजको जीवनशैलीमा रक्सी पिउनु धेरैका लागि सामान्य बानी बनिसकेको छ। पार्टी, भेटघाट वा कुनै पनि जमघटमा रक्सीको प्रयोग आम देखिन्छ। तर जब स्वास्थ्यमा असर पर्न थाल्छ, त्याग्ने निर्णय लिनेहरू पनि बढिरहेका छन्। यस्तो अवस्थामा एकैपटक रक्सी छाड्दा शरीर र मानसिक अवस्थामा के-कस्ता असर देखिन्छन् भन्ने विषयमा सतर्क रहन आवश्यक छ।

अचानक रक्सी छाड्दा देखा पर्ने समस्याहरू

नियमित र अत्याधिक रक्सी सेवन गर्ने व्यक्तिले एक्कासि रक्सी त्याग्दा शरीरमा विभिन्न परिवर्तन देखिन सक्छन्। पहिलो असर मानसिक स्वास्थ्यमा देखिन्छ—चिडचिडापन, बेचैनी, डर, तनाव जस्ता लक्षण सामान्य हुन्छन्। शरीर डिटक्स हुन थाल्दा काँपिने, पसिना आउने, बान्ता हुने जस्ता समस्या देखा पर्न सक्छन्। यी असर प्रायः हल्का भए पनि कहिलेकाहीँ गम्भीर पनि हुन सक्छन्।

साथै, अनिद्रा पनि एउटा प्रमुख समस्या हो। रक्सीले मस्तिष्कमा शामकको काम गर्ने भएकाले अचानक यसको अभावमा निद्रामा समस्या आउन सक्छ। स्नायु प्रणालीमा परिवर्तनका कारण शरीरलाई नयाँ अवस्थासँग समायोजन गर्न समय लाग्छ।

रक्सी त्याग्नाका फाइदाहरू

यद्यपि सुरुमा केही समस्या देखा परे पनि, रक्सी छोड्दा दीर्घकालीन रूपमा धेरै फाइदा मिल्छन्। मानसिक तनाव र डिप्रेसन कम हुने, स्मरणशक्ति र एकाग्रता सुधार हुने जस्ता सकारात्मक परिवर्तन देखिन्छन्। शरीरमा उर्जा बढ्छ, छाला चम्किलो र स्वस्थ देखिन्छ, र डिहाइड्रेसनको समस्या हट्छ।

कलेजोको क्षति कम भई पुनः मर्मत हुन थाल्छ। साथै, रक्सी छोड्दा उच्च रक्तचापको जोखिम घट्छ, पाचन तन्त्र सुदृढ हुन्छ र क्यान्सरजस्ता गम्भीर रोगको जोखिम पनि कम हुन्छ—विशेषतः कलेजो, स्तन, घाँटी, पेट र एसोफ्यागस (घाँटीको नली) को क्यान्सर।

त्यसैले, रक्सी छाड्न चाहनेले शरीरको प्रतिक्रिया बारे जानकार भई आवश्यक परे चिकित्सकीय परामर्श लिएर सुरक्षित रूपमा यो कदम चाल्नुपर्छ। शरीरको सुरक्षासँगै दीर्घकालीन स्वास्थ्य सुधारका लागि यो महत्त्वपूर्ण निर्णय बन्न सक्छ।