

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारका केही कमजोरीहरू स्वीकार गर्दै सुधारसहित अघि बढ्ने बताएका छन्।
शनिबार प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठूलो दल भए पनि बहुमत नपुगेकाले मिलेर सरकार बनाउनु परेको स्पष्ट पारे। “अहिलेको प्रणालीमा कुनै पनि दलको स्पष्ट बहुमत आउन गाह्रो छ,” देउवाले भने, “त्यसैले मिलेर सरकार बनाउने र मिलेरै चुनाव लड्नुपर्ने बाध्यता छ।”
उनले समावेशी संविधानका कारण सबै वर्गको प्रतिनिधित्व संसदमा सुनिश्चित भएको दाबी गर्दै कांग्रेस नेतृत्वमा २०४८ सालमा गठन भएको सरकारको कार्यकालमा देशले विकासमा ठूलो फड्को मारेको स्मरण गरे। उनले वर्तमान सरकार पनि विकासको मार्गमा अघि बढिरहेको बताए।
त्यस्तै, देउवाले २०५२ सालमा आफू प्रधानमन्त्री हुँदा सांसदहरूको सहुलियतका लागि गाडी खरिदमा भन्सार छुट दिने योजना ल्याएको प्रसंग पनि उल्लेख गरे। “त्यसबेला सबैको सहमतिमा छुट दिने योजना ल्याइएको थियो,” उनले भने, “तर विरोध गर्नेले नै पछि छुटमा गाडी किनेर त्यसलाई ‘पजेरो काण्ड’ बनाएका थिए।”
उनले लोकतन्त्रमा बोल्न पाउने अधिकार सबैलाई हुने भन्दै आलोचना र टिप्पणीहरू स्वाभाविक भएको धारणा राखे।
पूर्वप्रधानमन्त्री देउवाको उक्त योजना त्यसबेला राप्रपासँग मिलेर बनाएको संयुक्त सरकार टिकाउन ल्याइएको भन्दै अहिले पनि चर्चामा आइरहने गरेको छ। सो योजनाको दुरुपयोग गर्दै केही सांसदहरूले गाडीको व्यापार गरेको आरोपसमेत लाग्दै आएको थियो।