कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनु जरुरी छ : अध्यक्ष माधवकुमार नेपाल

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनु जरुरी छ : अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बिखण्डित अवस्थामा रहेको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु आजको आवश्यकता भएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन–आश्रित स्मृति दिवसको अवसरमा बोल्दै अध्यक्ष नेपालले सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताको दिशामा लैजान निरन्तर प्रयासरत रहेको स्पष्ट पारे।

उनले विचार, दृष्टिकोण र मूल्यमा मेल खाने राजनीतिक शक्तिहरूसँग मोर्चा बनाउँदै सहकार्य गर्नुपर्ने बताए। “हामीले आत्मविश्वासका साथ सही विचारमा अडिग रहनुपर्छ,” उनले भने, “सम्भव भएमाझ पार्टी एकता गरेर अघि बढ्न पनि पछि हट्नु हुन्न।” नेपालले कम्युनिस्ट आन्दोलनभित्र देखिएका विकृति र विसङ्गतिसँग लड्दै सिद्धान्तप्रति प्रतिबद्ध, इमानदार कम्युनिस्टका रूपमा अगाडि बढ्न सबैलाई आग्रह गरे।

कार्यक्रममा पार्टीका अन्य नेताहरूले पनि दिवंगत नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको योगदानको स्मरण गर्दै उनीहरूको विचार र संघर्षलाई मार्गदर्शक मान्दै कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।