विश्वका सबैभन्दा धनी क्रिकेटरहरू: सचिन तेन्दुलकर शीर्षमा, विराट कोहलीको सम्पत्ति चढ्दै

विश्वका सबैभन्दा धनी क्रिकेटरहरू: सचिन तेन्दुलकर शीर्षमा, विराट कोहलीको सम्पत्ति चढ्दै

नयाँदिल्ली । क्रिकेट केवल खेल मात्र होइन, अहिले धेरै खेलाडीहरूको लागि अथाह सम्पत्तिको स्रोतसमेत बनिसकेको छ। विश्वभरिका चर्चित क्रिकेटरहरू म्याच खेलेर मात्र नभई विज्ञापन, ब्रान्ड एम्बेसडर, व्यापार र लगानीमार्फत ठूलो आर्थिक लाभ लिइरहेका छन्।

टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार विश्वका सबैभन्दा धनी क्रिकेटरमा भारतीय महान् ब्याट्सम्यान सचिन तेन्दुलकर अग्रपंक्तिमा छन्। “क्रिकेटका भगवान” भनिने तेन्दुलकरको अनुमानित कुल सम्पत्ति १७० मिलियन डलर छ।

तेन्दुलकरपछि सूचीमा दोस्रो स्थानमा रहेका छन् पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनी। उनी सन २०२४ सम्मको रिपोर्टअनुसार १११ मिलियन डलर बराबरको सम्पत्तिका मालिक हुन्।

तेस्रो स्थानमा आधुनिक युगका स्टार क्रिकेटर विराट कोहली छन्। ब्रान्ड एम्बेसडर, विज्ञापन र आफ्नै होटल चेन ‘वन ८’ को माध्यमबाट कमाइ गर्दै आएका कोहलीको कुल सम्पत्ति ९२ मिलियन डलर पुगेको बताइएको छ।

चौथो स्थानमा अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ छन्, जसको सम्पत्ति करिब ७० मिलियन डलर रहेको छ।

यसैगरी, पाँचौं स्थानमा वेस्ट इन्डिजका पूर्व स्टार ब्रायन लारा छन्, जसको सम्पत्ति अनुमानित रूपमा ६० मिलियन डलर रहेको छ।

यी क्रिकेटरहरूले खेलमैदानमा जित हासिल गर्नुका साथै व्यवसायिक रूपमा पनि उल्लेखनीय सफलता हासिल गरेका छन्, जसले उनीहरूलाई विश्वका सबैभन्दा धनी खेलाडीको सूचीमा पुर्‍याएको हो।