

काठमाडौं । राजधानी काठमाडौंमा हिजोदेखि सुरु भएको अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम अन्तर्गत आज जलवायु परिवर्तनबारे विशेष छलफल सत्र सञ्चालन भइरहेको छ। हिमाल, हिमनदी र जलवायु परिवर्तनका असरहरूबारे छलफल गर्न यो संवाद आयोजना गरिएको हो।
ताहाचलस्थित सोल्टी होटेलमा बिहान ९ः३० बजेबाट सुरु भएको आजको छलफल सत्रमा १७५ जना विदेशी पाहुना सहित करिब ३५० जनाको सहभागिता रहेको छ।
परराष्ट्र मन्त्री आरजु राणा देउवाका अनुसार तीन दिनसम्म (जेठ २ देखि ४ गतेसम्म) सञ्चालन हुने यस संवादमा जलवायु परिवर्तन प्रमुख विषय हुनेछ।
आजको छलफल सत्र विशेषतः अन्तर्राष्ट्रिय सम्मेलनको स्वरूपमा सञ्चालन भइरहेको छ। सहभागी राष्ट्र तथा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरूका प्रतिनिधिमण्डलले कार्यक्रमको थिमअनुसार ५–५ मिनेटको समय पाएका छन्। सत्रमा हालसम्म २३ प्रतिनिधिमण्डलले आफ्नो धारणा राख्ने तयारी गरेका छन्।
कार्यक्रम बिहान ११:३० बजे सुरु भई अपरान्ह १:३० बजे सम्पन्न हुने तालिका छ। त्यसपछिका सेसनहरूमा विशिष्ट अतिथिहरूलाई सगरमाथाको हवाइ यात्रा लगायत विविध कार्यक्रममार्फत स्वागत गरिने आयोजकले जनाएका छन्।