नेपाल महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

नेपाल महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्री चरणमा प्रवेश गरेको छ।

शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले बढी जित निकालेको आधारमा सुपर थ्रीमा स्थान बनाएको हो। हङकङसँग अंक बराबरी (५–५) भए पनि आईसीसीको प्लेइङ कन्डिसनअनुसार समान अंक हुँदा बढी जित निकाल्ने टोली अघि बढ्ने प्रावधान छ।

नेपालले समूह चरणमा ४ खेलमा २ जित, १ हार र १ नतिजाविहीन खेलसहित ५ अंक जोडेको थियो। हङकङले १ जित र ३ नतिजाविहीन खेलसहित ५ अंक बनाए पनि जितको संख्यामा नेपाल अगाडि रह्यो। यदि हङकङले शुक्रबारको खेल जितेको भए ६ अंकसहित समूह विजेता बन्थ्यो। तर वर्षाका कारण त्यो सम्भावना समाप्त भयो।

९ टोली सहभागी प्रतियोगितामा तीन समूहका शीर्ष टोलीहरू सुपर थ्रीमा पुगेका छन्। अब सुपर थ्रीमा एक–अर्कासँग प्रतिस्पर्धा गरी शीर्ष दुई टोलीले महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ।

नेपालले सुपर थ्रीमा अब यूएई र आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।