संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट परिमार्जनसहित पारित

संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट परिमार्जनसहित पारित

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकलाई परिमार्जनसहित पारित गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तहरू सम्बन्धी व्यवस्थालाई समेटिएको विधेयकको अन्तिम मस्यौदा प्रतिवेदन पारित गरेको हो। समिति सभापति रामहरि खतिवडाले विधेयकमा आवश्यक परिमार्जनसहित पारित गरिएको जानकारी दिए।

पारित विधेयकमा अब निजामती सेवाका लागि ‘कुलिङ पिरियड’ दुई वर्ष रहने छ भने निजामती कर्मचारीको अवकाश उमेर सीमा ६० वर्ष कायम गरिएको छ। उमेर हद भने एक–एक वर्षका दरले क्रमशः कार्यान्वयन गरिनेछ।

गृहमन्त्री रमेश लेखकले बैठकमा कुलिङ पिरियड दुई वर्ष कायम गर्न प्रस्ताव गरेका थिए। साथै, हालको ५८ वर्षे उमेर हदलाई क्रमिक रूपमा बढाउँदै ६० वर्ष पुर्‍याउने प्रस्ताव पनि उनले प्रस्तुत गरेका थिए। लेखकले औसत आयु वृद्धिको प्रवृत्ति र अन्तर्राष्ट्रिय अभ्यासको सन्दर्भमा पहिलो आर्थिक वर्षमा १ वर्ष र दोस्रो आर्थिक वर्षमा थप १ वर्ष बढाएर उमेर हद समायोजन गर्न सुझाव दिएका थिए।

सभापति खतिवडाका अनुसार विधेयक पारित हुन समिति सदस्य, सरकार र सरोकारवाला पक्षहरूको योगदान महत्वपूर्ण रहेको छ। साथै, आवश्यक परेमा विधेयकमा संशोधन गर्न सकिने प्रावधान कायम रहेको पनि उनले उल्लेख गरे।

निजामती सेवा विधेयक २०८० साल फागुन २१ गते प्रतिनिधिसभामा दर्ता गरिएको थियो। सैद्धान्तिक छलफलपछि प्रतिनिधिसभाले २०८१ जेठ १५ गते विधेयकलाई दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो।

विधेयकमाथि गहिरो चासो जनाउँदै सांसदहरूले १२४ समूहबाट एक हजार ५८३ संशोधन दर्ता गराएका थिए। तीमध्ये उपयुक्त संशोधनहरू समावेश गरी विधेयकलाई अन्ततः सर्वसम्मतिमा परिमार्जनसहित पारित गरिएको हो।