सनस्क्रिन लगाउँदा अनुहार कालो देखिन्छ ? यस्ता छन् कारण र समाधान

सनस्क्रिन लगाउँदा अनुहार कालो देखिन्छ ? यस्ता छन् कारण र समाधान

काठमाडौं  । गर्मी मौसममा छालालाई सूर्यको तेज घाम र हानिकारक पराबैंगनी किरणबाट जोगाउन सनस्क्रिन अत्यन्तै आवश्यक मानिन्छ। तर, धेरैको गुनासो छ—सनस्क्रिन लगाउँदा अनुहार उल्टै कालो देखिन थाल्छ। यस्तो अनुभवपछि केहीले त सनस्क्रिन प्रयोग गर्नै छाड्छन्।

छाला विशेषज्ञहरूका अनुसार यस्तो समस्या हुनु सामान्य हो। सनस्क्रिनमा प्रयोग गरिने जिंक अक्साइड र टाइटेनियम डाइअक्साइड जस्ता तत्त्वहरूले छालामा हल्का तह सिर्जना गर्छन्, जसले अनुहार अलिकति कालो देखिन सक्छ। साथै, यदि तपाईँको छाला तैलीय छ र तपाईँले भारी सनस्क्रिन प्रयोग गर्नुभयो भने छालामा अक्सिडाइजेसनको प्रक्रिया शुरु हुन सक्छ, जसले गर्दा अनुहार नीरस र कालो देखिन थाल्छ।

तर यसको समाधान पनि सरल छ। छाला विशेषज्ञहरू भन्छन्—सनस्क्रिन छोड्ने होइन, तर प्रयोगको तरिका बदल्नुपर्छ।

तपाईंले जिंक अक्साइड र टाइटेनियम डाइअक्साइडको मात्रा कम भएको सनस्क्रिन रोज्न सक्नुहुन्छ। अथवा, टिन्टेड सनस्क्रिन प्रयोग गर्न सकिन्छ, जसले छालाको रंग सन्तुलनमा राख्नुका साथै घामबाट पनि सुरक्षा दिन्छ।

टिन्टेड सनस्क्रिन तैलीय छालाका लागि पनि उपयुक्त मानिन्छ। यसले छालालाई सुन्दर देखाउनुका साथै सूर्यका नकारात्मक प्रभावबाट जोगाउने काम गर्छ। त्यसैले, अनुहार कालो देखिन्छ भनेर सनस्क्रिन छोड्ने होइन, उपयुक्त सनस्क्रिन छान्न सिक्नुपर्छ।