

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले ५२ जना संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी विवादमा जेठ २८ गते फैसला सुनाउने मिति तोकेको छ ।
सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बिहीबार इजलासमा बहस सकिएपछि फैसला सुनाउने मिति तय गरिएको हो । साथै, इजलासले सबै पक्षलाई जेठ १६ गतेभित्र बहस नोट पेस गर्न निर्देशन दिएको छ ।
माघ ३० गतेदेखि निरन्तर सुनुवाइ हुँदै आएको यो मुद्दामा संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् कानुन संशोधन गरी अख्तियार, निर्वाचन आयोगलगायत संवैधानिक निकायहरूमा नियुक्ति गरेपछि यसको वैधानिकता प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल, दिनेश त्रिपाठीलगायतले रिट दायर गरेका थिए ।
२०७७ मंसिरमा पहिलोपटक र २०७८ वैशाखमा दोस्रोपटक गरी दुई चरणमा अध्यादेशमार्फत् कानुन संशोधन गरेर कुल ५२ पदाधिकारी सिफारिस गरिएको थियो । संशोधित कानुनअनुसार परिषद्को बैठकमा उपस्थित सदस्यहरूको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिँदै ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थितिमा ती नियुक्तिहरू सिफारिस भएका थिए ।
अब यिनै नियुक्तिको वैधानिकतासम्बन्धी अन्तिम निर्णय संवैधानिक इजलासले जेठ २८ गते सुनाउनेछ ।