नेपालले बहराइनलाई ६ विकेटले हरायाे, सुपर थ्री प्रवेशको सम्भावना कायमै

नेपालले बहराइनलाई ६ विकेटले हरायाे, सुपर थ्री प्रवेशको सम्भावना कायमै

काठमाडौं । नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा बहराइनलाई ६ विकेटले पराजित गर्दै सुपर थ्रीमा पुग्ने सम्भावना जिवितै राखेको छ।

थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा वर्षाले प्रभावित खेलमा डकवर्थ लुइस (DL) मेथडअनुसार ७ ओभरमा ५६ रनको लक्ष्य पाएको नेपालले ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

कप्तान इन्दु बर्माले ७ बलमा आक्रामक २४ रन बनाउँदै ४ चौका र १ छक्का प्रहार गरिन् भने पुजा महतोले १३ रनको योगदान दिइन्। सम्झना खड्का ५ रनमै आउट भइन्। बहराइनका लागि पवित्रा शेट्टीले ३ विकेट लिइन्।

यसअघि बहराइनले १२.४ ओभरमा ७६ रन बनाइसकेको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो। बहराइनकी रासिका रोड्रिगोले २९ बलमा २४ रन जोड्दै राम्रो सुरुवात दिलाएकी थिइन्।

यस जितसँगै नेपाल समूह तालिकाको शीर्षस्थानमा उक्लिएको छ। नेपालले ४ खेलमध्ये २ मा जित, १ मा हार र १ खेल वर्षाले रद्द भएपछि ५ अंक जोडेको छ। हङकङले ३ खेलबाट ४ अंक बनाएको छ।

अब शुक्रबार हुने हङकङ र बहराइनबीचको खेलमा बहराइन विजयी भएमा मात्र नेपाल सुपर थ्रीमा स्थान सुरक्षित गर्नेछ।

यस छनोटमा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता टोली सुपर थ्री चरणमा प्रवेश गर्नेछ भने सुपर थ्रीको शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन्।