संघीय संसद भवन निर्माण : अन्तिम पटक म्याद थप्नेबारे छलफल भइरहेको उपप्रधानमन्त्री सिंहको भनाइ

संघीय संसद भवन निर्माण : अन्तिम पटक म्याद थप्नेबारे छलफल भइरहेको उपप्रधानमन्त्री सिंहको भनाइ

काठमाडौँ  । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको काम सक्न अन्तिम पटक सशर्त म्याद थप गर्ने तयारी भइरहेको बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै मन्त्री सिंहले यसअघि पटक–पटक म्याद थप गर्दा पनि तोकिएको समयमा निर्माण सम्पन्न नभएकाले अब अन्तिम पटक मात्र म्याद थप्ने तयारी भइरहेको जानकारी दिए।

उनले भने, “अब अन्तिम पटक सशर्त म्याद दिने तयारी छ। त्यसपछि पनि काम पूरा नभए ठेकेदार कम्पनीविरुद्ध कानुनी कारबाही अघि बढाइनेछ।” उनका अनुसार हालसम्म करिब ८६ प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ।

बैठकमा सहभागी सांसदहरूले समयमै काम नगर्ने ठेकेदारमाथि कडा कारबाही गर्नुपर्ने सुझाव दिएका थिए। माओवादी सांसद हितराज पाण्डेले म्याद थप गर्नुको कुनै औचित्य नरहेको भन्दै जरिवाना सहित ठेक्का रद्द गर्न सरकारको ध्यानाकर्षण गराए।

नेपाली कांग्रेस सांसद देव प्रसाद तिमल्सिनाले तीन वर्षमा सम्पन्न हुनुपर्ने संसद भवन सात वर्षसम्म नसकिएको भन्दै सरकारलाई ‘लाचार’ बनेको आरोप लगाए। उनले ठेकेदारको चाहनाअनुसार पटक–पटक म्याद थपिँदै आएको भन्दै आपत्ति जनाए। साथै, हालै बनेका सरकारी भवनहरू गुणस्तरहीन रहेको भन्दै मन्त्री क्वाटरमै पानी चुहिन थालेको उदाहरणसमेत पेश गरे।

संसद भवन निर्माणका लागि २०७६ असोज १६ गते पाँच अर्ब दुई करोड रुपैयाँ लागतमा तीन वर्षभित्र निर्माण सक्ने गरी सम्झौता गरिएको थियो। तर, बारम्बार म्याद थपिँदा पनि निर्माण कार्य अझै अधुरै छ।